~समय अनि जिजीविषा~

 
 
 
~समय अनि जिजीविषा~

विचारहरूको 'ननस्टप' कुदाई ,
जस्तै अँध्यारोमा कुद्छ रेल -
डक्-डक्.....डक्-डक् !
भावहरू फुत्किन्छन
सुत्त सुत्त !
आउँदैनन् मुट्ठीमा |
ठम्याउँन नपाई शब्दहरू
पछि छोड़िन्छन् अँध्यारोमा
झल्याकझुलुक गर्दै !
सुपरफास्ट बुलेट ट्रेन उमेर
उड़ेर भेट्न खोज्छ क्षितिज 
निमेष मै
थाहै नपाई |
समय आकाशको जून
जति जति कुदयो भेट्नलाई
भाग्छ पर पर उति उति 
स्मृतिको तलाउमा उफ्रि रहन्छन्
उम्केका ठुला माछाहरू !
जीवनका ती उकाली ओह्रालीहरू
थुम्थुम्याउँनु नपाई थाकेर सुतेका
रून्चे आशा-अभिलाषाहरू
निर्वासित भएका सपनाहरू
बाध्यताको तुषारोले डढ़ेका
ती कलिला रहरहरू
शून्यबाट आरम्भ भएर
सबै शून्यमै विलिन हुनेछन् एकदिन |
तरै पनि....तरै पनि
हरेक कठिन समयमा
छेउमा आएर ठिङ्ग उभिन्छ जिजीविषा
कुममा धाप मारेर भन्छ
म छु त !
नवम्बर १४/ १९१८

Comments

Popular posts from this blog

सहर (पुरानो फेसबुक पोस्ट)

~कविता~