सहर (पुरानो फेसबुक पोस्ट)



सहर :  दृश्य - १

सहरको एउटा ठूलो होर्डिङ्गमाथि
पखेटा खसालेर बसेकोछ
एउटा बुढ़ो काग
अनि , 
हेर्दैछ मुन्टो बटारेर 
दाहिने आँखाले उँधोतिर
    विज्ञापनकी सुन्दरी मोडेललाई |  
---------------------------------------

सहर :  दृश्य - २

 सहरबिच पुलको फुटपाथमा 
गोड़ा पसारेर बसेकी छिन्
एउटी अर्धविक्षिप्त आमा
निर्विकार दृष्टीले हेर्दैछिन्
विकारग्रस्त सहरको धमिलो आकाशलाई
अनि -
चुसाउँदैछिन आफ्नो छाती
भोकाएको
नाङ्गो-भुतुङ्गो दुधमुखे बालकलाई |
-----------------------------------------

सहर : दृश्य - ३

सहरको व्यस्त बजारको एउटा गल्लीमा

आफ्ना ठुटा हात खुट्टा देखाउँदै
लड़ी-बुड़ी गरेर भिक्षा माँग्दै छ
एउटा हृष्ट-पुष्ट देखिने कुष्टरोगी
छेउ लागेर हिड़दै छन् कति
आफ्नै खुशीमा हाँस्दै ईत्रिदै
अनि कति 
आफ्नै दुःखमा पिरोलिएका
अन्यमनष्क अनुहारहरू ! 
------------------------------

सहर : दृश्य - ४ 

   सहरको मूलबाटोमा 
  एउटा साँढ़ेले हान्दैछ
  पार्क गरेर राखिएका
 महँङ्गा कार अनि बाईकहरूलाई
 सहरमा जन्मेर सहरमै विचरण गर्ने ऊ
 शायद तिनलाई नै आफ्नो प्रतिद्वन्द्वी ठान्दैछ
    अलिक पर उभिएर सिभिक पुलिस 
     मरी-मरी हाँस्दै छ |
  --------------------------------------

   सहर : दृश्य - ५
   
   सहरमा हरेक रात चल्छ
अँध्यारो र उज्यालोको तुमुल द्वन्द्व
 शून्य र कोलाहलको माझमा
शान्ति खोज्छ मनले-
स्मार्टफोनको टचस्क्रीनमा
जुनकिरी निर्वासित भएको यो सहरमा
देखिदैन राति तिनीहरूको समूह-नृत्य
   तर
लामखुट्टेहरूले बाहिर गाउँछन्
  डेङ्गुको स्वागत-गीत
    
     **************

Comments

Popular posts from this blog

~समय अनि जिजीविषा~

~कविता~