बाहिर अनि भित्र




 
 ~~बाहिर अनि भित्र~~


नाङ्गो छ आकाश
उदाङ्गो छ जून
तर कति सुन्दर !
एसियन हाईवेको दोबाटोमा
केही दिन अघि मात्र उभेको छ
ताड़को रूख जस्तो 
भीषण अग्लो एक प्रकाश-स्तम्भ
त्यसैबाट जोगिदै जोगिदै 
सर्लक्क नाघेर आएको छ -
एक केस्रा जून
अनि विस्तारै खसेको छ
मेरो साँघुरो सहरिया आँगनमा |

आकाशको बीचबाट
बग्दैछ आकाशगङ्गा
त्यो पनि देखिन्छ धमिलो 
सहरको एलईडी प्रकाशलेे प्रदुषित भएर 
तरै पनि....तरै पनि ....
जब जानेछु अनन्त यात्रामा एक दिन
महाकाशको बाटो भएर
एक क्षण रोकिनेछु त्यहाँ 
अनि पखाल्ने छु मैलो सबै 
त्यहीं !....
आकाशगङ्गामा !
किन कि
मलाई थाहा छ -
मेरा छुद्र पापहरू पनि पखाल्न सक्तैन
धरतीको दुषित गङ्गाले !

तरै पनि.....तरै पनि 
कुनै एक दिन गएर 
एउटा दीप बगाउँने छु त्यहाँ पनि |

                  १८/०९/२०

Comments

Popular posts from this blog

~समय अनि जिजीविषा~

सहर (पुरानो फेसबुक पोस्ट)

~कविता~