पराआधुनिक सभ्यता ~ रचनाकाल - २८/११/२०१९


          पराआधुनिक सभ्यता 
 
केही पनि रहने छैन अन्तमा
प्रविधिले पराकाष्टा नाघेपछि
न रहने छ प्रेम न आत्मीयता
न सहानुभूति न संवेदना
न सहृदयता न सज्जनता
न आँशु न हाँसो
न क्रन्दन न घुटन
न पच्छाताप न विलाप
न बोलि न संस्कार .......
मानवता नै न रहे पछि 
के पो बाँकी रहन्छ र ?
मानव निर्मित आभाषी संसारमा !

होईन !
रहन्छ नि !!
रहन्छ लालचको व्यापारिक 'ब्ल्याक होल'
जसमा विलिन हुँनेछन् -
मानवीय गुणका सबै झलमल्ल ताराहरू
रहन्छ क्रूर हिंसा 
रहन्छ निर्मम स्वार्थ
रहन्छ घातक एकाकीपन
जसलाई भर्न सक्ने छैन
अत्याधुनिक कुनै खेलौनाले
फरक रहन्न केही 
रोबोट र मान्छेमा..... !
आउनेछ 'क्वान्ट्म चीप'
जसलाई प्रत्यारोपित गरिएको हुँनेछ
मानव नामधारी प्राणीको मस्तिष्कमा
अनि चालित हुँनेछ ऊ त्यसैद्वारा
यंत्रवत !
अनि .....
जटिल अन्तरजालको भुँवरीमा फँसेपछि
यांत्रिक मान्छेले नष्ट गर्नेछ आफैलाई
तर .....
आत्महत्या भनिने छैन त्यसलाई !


Comments

  1. साष्टाङ्ग प्रणाम, कवि ज्यू। उत्कृष्ट रचना!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

~समय अनि जिजीविषा~

सहर (पुरानो फेसबुक पोस्ट)

~कविता~